‘रास्वपा जिताउने फिल्म’का कलाकारले नै भने, ‘देशका ९० प्रतिशतमा निराशा’

&

काठमाडौं, २४ साउन । कलाकार खगेन्द्र लामिछानेले देशका ९० प्रतिशत निराशामा रहेको जनाएका छन् ।


राष्ट्रिय स्वतन्त्र पार्टीका दुई तिहाई सरकार बनेको चार महिना पछि अभिनेता लामिछानेले देशका ९० प्रतिशत मानिस निराशमा रहेको उल्लेख गरेका हुन् ।

‘मेरो स्वभाव अलि गफ गर्नुपर्ने भएकोले संयोगले भेट हुने मानिसहरुसँग मैले कुरा गर्छु, त्यस्ता मानिसहरुमा सबै वर्ग र क्षेत्रका पर्छन् तर भेट भएका लगभग ९० प्रतिशत मानिसहरु भविष्यप्रति एकदमै निराश छन्, यो वर्तमानको यथार्थ हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन। 

कलाकारले कलाकारिता क्षेत्रमा भविष्य देखेन भने ऊ निराश भएर त्यो क्षेत्र छोड्ने गरेको जनाउँदै उनले अगाडी लेखेका छन, ‘देशको लागि निराशा सबैभन्दा घातक रोग हो । त्यसैले नागरिकमा जन्मेको यो चरम निराशालाई बेलैमा उपचार गरौँ है । सुन्दा त यो कुरा अलि बढी सैद्धान्तिक लाग्छ तर यो कुरा अलि ठूलो स्केलको तर आँखाले प्रत्यक्ष नदेखिने मनोभावरुपी ठूलो रोग हो।’

‘टलकजंग भर्सेज टुल्के’ तथा ‘पशुपतिप्रसाद’ मात्रै होइन, रास्वपालाई चुनाव जिताउने बातावरण तयार पार्नका लागि बनाइएको आरोप लागेको ‘दिमाग खराब’ चलचित्रका प्रमुख अभिनेताले आफ्नो पछिल्लो अनुभव सामाजिक सञ्जालमार्फत सेयर गरेका हुन् ।

‘नेताहरुले बोल्ने सही शव्द, वाक्य र भविष्यप्रति आशा जगाउने कुराहरुले यो रोग लागेका मानिसहरुलाई तत्कालका लागि मल्हमको काम गर्छ । त्यसकारण नेताज्यूहरु, समयमै उपचार शुरु गरौँ । नत्र अब आउने ठूलो संकटलाई कसैले पनि थेग्न सक्दैन,’ उनले चेतावनी पनि दिएका छन् ।
 


About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।