सोनम वाङचुकले तोडे अनशन

काठमाडौँ । भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिन लामो अनशन अन्त्य गरेका छन् । भारतका केन्द्रीय मन्त्री जगतप्रकाश नड्डा र डा. जितेन्द्र सिंहसँग भएको छलफलपछि उनले गएराती अनशन तोडेको जनाएका छन् ।

वाङचुकले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार लेह-लद्दाखको शीर्ष नेतृत्वको उपस्थितिमा विभिन्न चरणको लामो वार्तापछि उनले देशमा सम्भावित हिंसात्मक अवस्था टार्ने उद्देश्यले अनशन अन्त्य गर्ने निर्णय गरेका हुन् ।

उनका अनुसार अनशनका क्रममा विभिन्न राजनीतिक दलका ६५ सांसदले प्रत्यक्ष भेटघाट वा पत्रमार्फत अनशन अन्त्य गर्न आग्रह गरेका थिए । ती आग्रह र सरकारसँग भएका सहमतिका आधारमा उनले २६ दिनपछि अनशन तोडेको बताएका छन् ।

यसअघि विपक्षी दलका सांसदहरूको प्रतिनिधिमण्डल पनि वाङचुकलाई भेट्न पुगेको थियो । उनीहरूले समेत स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै अनशन अन्त्य गर्न आग्रह गरेका थिए ।

यसैबीच, ‘ककरोच जनता पार्टी’का संस्थापक अध्यक्ष अभिजित दिपकेले वाङचुकले अनशन अन्त्य गरेको खबरले राहत महसुस भएको बताएका छन् । उनले २६ दिनसम्मको कठिन अनशनपछि वाङचुकले आन्दोलनको यो चरण समाप्त गरेकोमा आभार व्यक्त गरेका छन् ।

दिपकेले आफ्नो सामाजिक सञ्जाल सन्देशमा जन्तरमन्तरमा जारी पार्टीको शान्तिपूर्ण प्रदर्शन भने धर्मेन्द्र प्रधानले राजीनामा नदिएसम्म निरन्तर जारी रहने बताएका छन् ।

पार्टीका मुख्य प्रवक्ता सौरभ दासले सरकारसँगको सहमतिअनुसार शुक्रबार तटस्थ स्थानमा छलफल आयोजना गरिएको जानकारी दिएका छन् । उनका अनुसार उक्त छलफलका लागि भारतको संविधान क्लबलाई स्थलका रूपमा चयन गरिएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।