काठमाडौँ । अमेरिकाले इरानसँग जारी युद्धमा हालसम्म ३७ अर्ब ५० करोड अमेरिकी डलर खर्च भएको जनाएको छ । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले मंगलबार संसद्को सुनुवाइका क्रममा उक्त जानकारी दिँदै युद्ध सञ्चालनका लागि थप बजेट आवश्यक रहेको बताएका हुन् ।
हेगसेथका अनुसार हालसम्मको खर्चमा युद्ध सञ्चालनका विभिन्न गतिविधि र आगामी सेप्टेम्बर ३० सम्म हुने अनुमानित खर्चसमेत समावेश गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना इरानसँगको युद्धका लागि मुख्य रूपमा प्रयोग हुने गरी थप करिब ९० अर्ब डलर बजेट स्वीकृत गर्न संसद्समक्ष प्रस्ताव गरेका थिए ।
इरानसँगको युद्ध लामो बन्दै गएपछि अमेरिकी संसद्मा यसको विरोध बढ्दै गएको छ । सत्तारुढ रिपब्लिकन र विपक्षी डेमोक्र्याट दुवै दलका सांसदहरूले राष्ट्रपति ट्रम्पले युद्धको अवस्था र रणनीतिबारे पर्याप्त जानकारी नदिएको आरोप लगाएका छन् । डेमोक्र्याट सांसदहरूले युद्धले देशको अर्थतन्त्रमा थप भार परेको र जनजीवन महँगिएको भन्दै सरकारको आलोचना गरेका छन् ।
रक्षामन्त्री हेगसेथले थप बजेट स्वीकृत नभए सैन्य तालिम, मर्मतसम्भार र भविष्यका सैन्य क्षमता विकासका कार्यक्रम प्रभावित हुने चेतावनी दिएका छन् । उनले सन् २०२७ का लागि १.५ ट्रिलियन डलरको रक्षा बजेट पनि आवश्यक रहेको बताएका छन् ।
यसैबीच, अमेरिका र इरानबीच यसअघि भएको युद्धविराम केही समयमै भंग भएपछि दुवै पक्षले फेरि दैनिक आक्रमण जारी राखेका छन् । पछिल्लो विवरणअनुसार युद्धमा १८ अमेरिकी सैनिकको मृत्यु भएको छ भने करिब ४३० जना घाइते भएका छन् । तीमध्ये अधिकांश सैनिक उपचारपछि पुनः सेवामा फर्किएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति ट्रम्पले इरानका ऊर्जा संरचना, पुल तथा अन्य रणनीतिक स्थलहरूलाई समेत निशाना बनाउन सकिने चेतावनी दिँदै भूमिगत आणविक केन्द्रमाथि पनि छिट्टै आक्रमण गरिने बताएका छन् । युद्ध चर्किंदै जाँदा थप सैन्य खर्च र यसको राजनीतिक प्रभाव अमेरिकाभित्रै प्रमुख बहसको विषय बनेको छ ।

