ककरोच जनता पार्टीको ‘संसद मार्च’ का क्रममा दिल्लीमा तनाव

काठमाडौँ । भारतको राजधानी दिल्लीस्थित जन्तर मन्तरमा ककरोच जनता पार्टीले आयोजना गरेको ‘संसद मार्च’ का क्रममा तनाव उत्पन्न भएको छ । प्रदर्शनकारीले प्रहरीमाथि लाठीचार्ज गरेको आरोप लगाएका छन् भने प्रहरीले उक्त आरोप अस्वीकार गरेको छ ।

प्रदर्शनकारीका अनुसार लाठीचार्जका कारण धेरै व्यक्ति घाइते भएका छन् र केहीको टाउकोसमेत फुटेको छ । तर दिल्ली प्रहरीले भने बल प्रयोग गरिएको दाबी अस्वीकार गर्दै प्रदर्शन नियन्त्रणका लागि आवश्यक सुरक्षा व्यवस्था मात्र अपनाइएको जनाएको छ ।

संसदतर्फ अघि बढ्न खोजेका ठूलो संख्याका प्रदर्शनकारीलाई प्रहरीले जन्तर–मन्तर क्षेत्रमै रोकेको थियो । त्यसक्रममा केही प्रदर्शनकारी राजीव चौक र मण्डी हाउस मेट्रो स्टेशनभित्र प्रवेश गरेका थिए भने कतिपयले सुरक्षा बार तोडेर संसद प्रहरी कार्यालयसम्म पुग्ने प्रयास गरेका थिए । प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।

घटनास्थलमा दिल्ली प्रहरी र द्रुत कार्यबलका सुरक्षाकर्मी व्यापक रूपमा परिचालन गरिएका छन् । प्रहरीले संसद मार्चका लागि अनुमति नदिइएको भन्दै कानूनअनुसार सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ ।

यता, ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेले आफूहरूलाई कसैले रोक्न नसक्ने दाबी गरेका छन् । उनले संसद मार्च पूर्ण रूपमा शान्तिपूर्ण हुने र आफ्ना माग राख्न लोकतान्त्रिक अधिकार प्रयोग गरिरहेको बताएका छन् ।

यसैबीच, २३ दिनदेखि आमरण अनशनमा रहेका सोनम वाङचुकले अनशन अन्त्य गर्न सरकारसमक्ष तीनवटा सर्त अघि सारेका छन् । उनले शिक्षा प्रणाली र प्रश्नपत्र चुहावट प्रकरणको जिम्मेवारी सरकारले लिनुपर्ने, ककरोच जनता पार्टीको प्रतिनिधिमण्डललाई संसद जान अनुमति दिनुपर्ने तथा सांसदहरूले उक्त विषय संसदमा उठाउने प्रतिबद्धता जनाउनुपर्ने माग गरेका छन् ।

उनले स्वास्थ्य अवस्थाका कारण संसद जान सम्भव नभए सांसदहरू आफैं सफदरजङ अस्पताल पुगेर सोही प्रतिबद्धता जनाउनुपर्ने तेस्रो सर्त पनि राखेका छन् ।

यसअघि ककरोच जनता पार्टीले सामाजिक सञ्जालमार्फत वर्षा र कडा सुरक्षा व्यवस्थाका बाबजुद आफूहरूको संसद मार्च शान्तिपूर्ण रूपमा सम्पन्न हुने जनाएको थियो । दिल्ली प्रहरीले भने मार्चका लागि अनुमति नदिइएको दोहोर्‍याउँदै कानूनविपरीत गतिविधि हुन नदिन आवश्यक सुरक्षा सतर्कता अपनाइएको जनाएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।