यी जिल्लामा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज र आगामी दुई दिन देशका विभिन्न नदी तथा खोलामा जलसतह उल्लेख्य बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार हाल कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरू, साथै कन्काई, कमला, बबई, पूर्व राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि आगामी दिनहरूमा अधिकांश नदीमा जलसतह उल्लेख्य बढ्ने अनुमान गरिएको छ ।

आज सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी, सुनकोशी, नारायणी, त्रिशूली, पश्चिम सेती र महाकाली नदीमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ । अन्य प्रमुख नदीहरूमा पनि बहाव बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले आज गोरखा, रूपन्देही, अर्घाखाँची, कपिलवस्तु र दाङमा बहने साना नदी तथा खोलामा आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाएको छ ।

यस्तै झापा, मोरङ, इलाम, सुनसरी, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, प्युठान, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलालगायत जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान छ ।

महाशाखाका अनुसार भोलि र पर्सि पनि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही साना नदी तथा खोलामा बहाव आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना रहेको छ ।

बाढी पूर्वानुमान महाशाखाले नदी किनार, तटीय क्षेत्र तथा खोल्सानालाको आसपास बसोबास गर्ने स्थानीयवासी, यात्रु र सरोकारवाला निकायलाई मौसम र नदीको अवस्थाबारे नियमित जानकारी लिँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।