आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

काठमाडौँ । आर्थिक वर्ष २०८२÷८३ को अन्तिम तीन दिनमा संघीय सरकारले ५० अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। आर्थिक वर्षको अन्त्यतिर करदाताले कर दायित्व भुक्तानी गर्ने क्रम बढ्ने भएकाले अन्तिम दिनहरूमा राजस्व संकलन उल्लेख्य हुने परम्परा यस वर्ष पनि दोहोरिएको हो।

महालेखा नियन्त्रक कार्यालयका अनुसार बिहीबार १६ अर्ब ५० करोड रुपैयाँ, बुधबार २१ अर्ब १७ करोड रुपैयाँ र मंगलबार १२ अर्ब ४३ करोड रुपैयाँ गरी तीन दिनमै ५० अर्ब १० करोड रुपैयाँभन्दा बढी राजस्व उठेको छ। यद्यपि, यो रकम गत आर्थिक वर्षको सोही अवधिमा संकलित करिब ६४ अर्ब रुपैयाँभन्दा कम हो।

अन्तिम समयमा राजस्व संकलन बढे पनि समग्र आर्थिक वर्षको राजस्व वृद्धिदर भने करिब ५ प्रतिशतमा सीमित भएको छ, जुन विगतका वर्षको तुलनामा निकै न्यून हो। आर्थिक वर्ष २०६८÷६९ देखि २०७८÷७९ सम्म औसत वार्षिक राजस्व वृद्धिदर १७ प्रतिशत रहेको थियो। पछिल्ला वर्षहरूमा भने वृद्धि क्रमशः सुस्त बन्दै गएको देखिन्छ।

राजस्व वृद्धिमा आएको मन्दीले आर्थिक गतिविधि, आयातमा कमी तथा समग्र अर्थतन्त्रको सुस्त गतिलाई संकेत गरेको विश्लेषण गरिएको छ। सरकारले आगामी आर्थिक वर्षमा राजस्व परिचालनलाई थप प्रभावकारी बनाउने चुनौती सामना गर्नुपर्ने देखिएको छ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।