फ्रान्सेली क्रुज मिसाइल, इन्टरसेप्टर र ग्लाइड बमहरू अब युक्रेनमा उत्पादन गरिने

पेरिस, ३२ असार । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले  युक्रेनलाई आफ्नै माटोमा मिसाइल र बम उत्पादन गर्न इजाजतपत्र दिइने घोषणा गरेका छन् । 

पेरिसमा भएको ‘कोएलिसन अफ द विलिङ’ शिखर सम्मेलनमा बोल्दै उनले यो निर्णयले युक्रेनको रक्षा उत्पादन क्षमता बढाउने र हतियारको निर्माणलाई तीव्र पार्ने बताए।

नयाँ इजाजतपत्र सम्झौता अन्तर्गत युक्रेनले स्थानीय रूपमा एस्टर–३० एयर डिफेन्स इन्टरसेप्टर, एएएसएम ग्लाइड बम र स्क्याल्प–इजी क्रूज मिसाइलहरू उत्पादन गर्नेछ।

म्याक्रोनले यो पनि बताए कि फ्रान्स र इटालीले आगामी साताहरूमा युक्रेनलाई थप हवाई प्रतिरक्षा प्रणाली (एयर डिफेन्स ब्याटरीज) र इन्टर सेप्टरहरू उपलब्ध गराउने छन्। यसैबीच, सन् २०२८–२९ सम्ममा युक्रेनले १६ वटा राफेल लडाकु विमान प्राप्त गर्ने अपेक्षा गरिएको छ।

‘कोएलिसन अफ द विलिङ’ फ्रान्स र बेलायतको नेतृत्वमा रहेको राष्ट्रहरूको समूह हो, जसले युक्रेनका लागि सुरक्षा प्रत्याभूतिको विषयमा काम गरिरहेको छ।

रुसले यस पहलको विरोध गरेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यसलाई ‘युद्धलाई बढावा दिने देशहरूको गठबन्धन’ को रूपमा वर्णन गरेका छन्। 

यसैबीच, रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले नेटो सदस्य राष्ट्रहरूले युक्रेनलाई पश्चिमी सैन्य प्रविधिहरूको परीक्षण स्थल बनाइरहेको आरोप लगाएकी छन्।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।