वर्षाका कारण देशभरका १३ प्रमुख सडकखण्ड प्रभावित, पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख सडक तथा राजमार्ग प्रभावित भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार देशभरका १३ स्थानमा सडक सञ्चालन प्रभावित भएको छ । तीमध्ये पाँच सडकखण्ड पूर्ण रूपमा अवरुद्ध हुँदा छ स्थानमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ भने दुई सडकखण्डमा सवारी आवागमन नै रोकिएको छ।

कोशी प्रदेशमा भोजपुरको मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ। इलाम नगरपालिका–४ राजदुवालीदेखि तालचुङ सडकखण्डसम्म पर्ने मेची राजमार्ग भने अविरल वर्षाका कारण पूर्ण रूपमा बन्द भएको छ। यस्तै उदयपुरको कटारी नगरपालिका–११ हर्देनीस्थित सिद्धिचरण लोकमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ।

बागमती प्रदेशमा काभ्रेपलाञ्चोकको भकुण्डे–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण सवारी सञ्चालन रोकिएको छ। मकवानपुरको हेटौँडा–भिमफेदी–बागमती–ललितपुर सडकखण्डमा पनि सम्भावित बाढी र पहिरोको जोखिमका कारण सवारी आवागमन बन्द गरिएको छ। भिमफेदी गाउँपालिका–८ पर्खालडाँडास्थित कान्तिलोकपथ पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ। साथै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशमा कास्कीको अन्नपूर्ण गाउँपालिका–८ सार्दीखोला क्षेत्रमा पर्ने नयाँपुल–घान्द्रुक सडकखण्डमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ। बागलुङको काठेखोला गाउँपालिका–६ इजारापानीस्थित मध्यपहाडी लोकमार्ग पनि पहिरोका कारण एकतर्फी सञ्चालनमा आएको छ।

लुम्बिनी प्रदेशमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ डुडेखोलास्थित सालझण्डी–ढोरपाटन सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द छ। गुल्मीका कालिगण्डकी गाउँपालिका–२ रानीबास तथा वडा नम्बर ४ पर्तिघाटस्थित कालिगण्डकी करिडोरमा भने एकतर्फी सवारी सञ्चालन भइरहेको छ।

कर्णाली प्रदेशअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका मालुवा क्षेत्रमा पर्ने जाजरकोट–डोल्पा सडकखण्डमा पहिरो खसेपछि एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।

प्रहरीले प्रभावित सडकखण्डमा यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन तथा वैकल्पिक मार्ग प्रयोग गर्न चालक र यात्रुलाई आग्रह गरेको छ । साथै अवरुद्ध सडक खुलाउने कार्य सम्बन्धित निकायबाट जारी रहेको जनाएको छ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।