रौतहट, ३० असार। काठमाडौंमा एक महिलालाई बलात्कार गरी एकबर्ष बढी समयदेखि फरार रहेका एक अभियुक्तलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रौतहटको राजपुर नगरपालिका–८ अकोलवा निवासी २२ वर्षीय आफान आलम रहेका छन्। उनी काठमाडौं महानगरपालिका–१३ टंकेश्वरमा भएको बलात्कारको घटनापछि फरार रही विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार परिवर्तित नाम ०८२र०८३ ९३४० ९क० को जाहेरीका आधारमा दर्ता भएको जबर्जस्ती करणी मुद्दामा फरार रहेका आलमको खोजी कार्य जारी थियो। गोप्य सूचनाका आधारमा काठमाडौं प्रहरी वृत्त कालिमाटीसँग समन्वय गरी रौतहट प्रहरीले विशेष खोजतलास सञ्चालन गरेको थियो।
सोही क्रममा सोमबार दिउँसो करिब १२ बजे राजपुर नगरपालिका–४ मा लुकिछिपी बसेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका आलमलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त कालिमाटी, काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

