धनगढी । सुदूरपश्चिम विश्वविद्यालयको कार्यकारी परिषद्ले अध्ययन बिदा, विश्वविद्यालयको जग्गा तथा छात्रवृत्ति व्यवस्थापनसम्बन्धी विषयमा तीनवटा समिति गठन गरेको छ ।
परिषद्को निर्णयअनुसार अध्ययन बिदाको दुरुपयोगबारे छानबिन गरी प्रतिवेदन पेस गर्न प्राध्यापक डा. राजेन्द्र प्रसाद भट्टको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको विश्वविद्यालयले जनाएको छ ।
त्यसैगरी विश्वविद्यालय र यसका आंगिक क्याम्पसका नाममा रहेको तथा चलनभोगमा रहेको जग्गाको अध्ययन, अनुसन्धान र छानबिन गर्न प्राध्यापक यज्ञराज पाठकको संयोजकत्वमा अर्को समिति गठन गरिएको छ ।
विश्वविद्यालयका आंगिक क्याम्पसले प्रदान गर्ने १० प्रतिशत छात्रवृत्ति वितरणलाई पारदर्शी र व्यवस्थित बनाउन व्यवस्थापन संकायका डीन केशवराज भट्टको संयोजकत्वमा कार्यविधि निर्माण समिति पनि गठन गरिएको छ ।
यस्तै, मानविकी तथा सामाजिकशास्त्र, शिक्षाशास्त्र, सामान्य विज्ञान, कम्प्युटर विज्ञान तथा सूचना प्रविधि तथा कानून केन्द्रीय विभागका शैक्षिक एवं प्रशासनिक भवन निर्माणका लागि विद्युतीय बोलपत्र आह्वान गर्ने प्रक्रिया सम्पन्न भएको विश्वविद्यालयले जनाएको छ।

