मध्यपूर्वमा तनाव थप चुलियो, मिसाइल हमलामा एक भारतीय नाविकको मृत्यु

काठमाडौँ । अमेरिकाले मंगलबार बिहान इरानमाथि पुनः व्यापक हवाई आक्रमण सुरु गरेपछि मध्यपूर्वमा तनाव थप चुलिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले हर्मुज जलडमरूमध्यमा इरानविरुद्धको नाकाबन्दी पुनः लागू गरेको घोषणा गरेका छन् ।

अमेरिकी केन्द्रीय सैन्य कमान्डका अनुसार आक्रमणको उद्देश्य इरानको सैन्य क्षमता कमजोर बनाउनुका साथै हर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने व्यावसायिक जहाजहरूको सुरक्षा सुनिश्चित गर्नु हो । ट्रम्पले अमेरिका अत्यन्त शक्तिशाली आक्रमण गरिरहेको र यो अभियान निरन्तर जारी रहने बताएका छन् । उनले सुरक्षित समुद्री मार्ग उपलब्ध गराउने खर्च अब अन्य देशका जहाजबाट असुल गरिने पनि बताएका छन् ।

अमेरिकी आक्रमणको जवाफस्वरूप इरानले संयुक्त अरब इमिरेट्स र बहराइनसँग सम्बन्धित दुई तेल ट्याङ्करमाथि मिसाइल प्रहार गरेको जनाइएको छ ।

संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयका अनुसार हर्मुज जलडमरूमध्यमा रहेका मोम्बासा र बहिया नामका दुई तेल ट्याङ्करमाथि दुई वटा क्रुज मिसाइल प्रहार गरिएको थियो। आक्रमणपछि दुवै ट्याङ्करमा भीषण आगलागी भएको बताइएको छ ।

घटनामा मोम्बासा ट्याङ्करमा कार्यरत एक भारतीय चालक दलका सदस्यको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन्। घाइतेमध्ये छ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। गम्भीर घाइतेमध्ये चार जना भारतीय र दुई जना युक्रेनी नागरिक रहेका छन्।

संयुक्त अरब इमिरेट्सले उक्त आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको खुला उल्लङ्घन र अत्यन्त उक्साहटपूर्ण कार्य भएको भन्दै आफ्ना जहाज र राष्ट्रिय हितको रक्षा गर्न तथा इरानको कदमको उपयुक्त जवाफ दिन आफूलाई पूर्ण अधिकार रहेको जनाएको छ।

यता बहराइनमा पनि सम्भावित मिसाइल आक्रमणको चेतावनीस्वरूप साइरन बजाइएको थियो। यद्यपि त्यहाँ कुनै क्षति वा आक्रमण भएको आधिकारिक पुष्टि भने भएको छैन।

अमेरिका र इरानबीचको पछिल्लो सैन्य गतिविधिले मध्यपूर्व क्षेत्रमा सुरक्षा चुनौती थप बढाएको विश्लेषण गरिएको छ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।