श्रृङ्गेश्वर धाममा एक महिना पुष्करिणी स्नान महोत्सव

तम्घास, २९ असारः गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ स्थित श्रृङ्गेश्वर तपोभूमिधाममा एक महिनासम्म दिव्य श्रृङ्गेश्वर मौन पुष्करिणी स्नान महोत्सव हुने भएको छ । श्रृङ्गेश्वर तपोभूमि धाम क्षेत्र संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा यही असारदेखि ३० भदौ १ गतेसम्म पुष्करिणी स्नान महोत्सव हुने भएको हो ।

उक्त धामको ऐतिहासिक, सामाजिक, धार्मिक तथा पुरातात्विक महिमा र महत्व प्रवर्द्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको धाम व्यवस्थापन समितिका सचिव दामेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

स्थानीय पर्यटन प्रवर्द्धन धार्मिक सहिष्णुतामा समेत टेवा पुग्ने विश्वासका साथ मेला आयोजना गरिएको उहाँले बताउनुभयो । मेलामा मौन पुष्करिणी स्नान, पवित्र स्नान र यसको महत्व, राष्ट्रिय कलाकारको भजन प्रस्तुती, देवी देवताका लीलाहरुको प्रदर्शनलगायतका कार्यक्रम हुने आयोजकले जनाएको छ ।

महोत्सवअन्तरगत १०८ मूलको जल तथा १०८ जडीबुटीको पावन समिश्रणद्वारा पुष्करिणी स्नान, मौन व्रतद्वारा आन्तरिक शुद्धी, देवपाठी ब्राह्मणद्वारा रुद्राभिषेक तथा वैदिक हवनादी कर्म सम्पन्न गरिने महोत्सव प्रचारप्रचार समितिका संयोजक कपिल गौतमले बताउनुभयो ।

मुख्य महोत्सव साउन २४ गतेदेखि हुने भए पनि पुष्करिणी महोत्सव भने असार ३० देखि नै सुरु हुनेछ । असार ३० गते औँसीका दिन १०८ जना भक्तजनद्वारा १०८ मूलको जल तथा १०८ जडीबुटी पुष्करिणीमा अर्पण गरिने कार्यक्रम छ ।

महोत्सवमा एक हजार १११ जना भक्तजनका टोली निर्माण गरिनेछ । उक्त टोलीले कालीगण्डकीमा पवित्र स्नान गरी मौन व्रत धारणा गर्दै धाम प्रवेश गर्ने तथा वेदपाठी ब्राह्मणद्वारा रुद्राभिषेक र हवनादी कर्ममा सहभागि भई दिव्य अनुष्ठान पूर्ण गर्ने प्रमुख व्याख्याता उपेन्द्र न्यौपानेले बताउनुभयो ।

मेलामा दर्शन गर्नाले पुण्य प्राप्त हुने, मन, वचन र कर्मको पवित्रता हुने, रोग, क्लेश तथा नकारात्मकता ऊर्जाबाट मुक्ति मिल्ने तथा भगवान् शिवको कृपा एवं आर्शिवाद प्राप्त भई मानसिक शान्ति, आत्मिकस्थिरता तथा आध्यात्मिक उन्नति हुने आयोजक विश्वास लिएको छ ।

रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले मेला र धामको महत्वबारे प्रचारप्रचार गर्न सडकको किनारामा धामको प्रतिमा बनाइएको तथा पहुँच सडक पक्की गरिएको जानकारी दिनुभयो ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।