बालेनका पुलिस होइनौं’ भन्ने डिएसपी चौधरीलाई जिल्ला बोलाइयो

धनगढी । कैलालीमा सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी प्रसन्नराज चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले घोडाघोडी नगरपालिका–५, दरखमा आयोजित लागुऔषधविरुद्धको सचेतनामूलक कार्यक्रममा डीएसपी चौधरीले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसबारेमा जानकारी लिन र आवश्यक सोधपुछ गर्न जिल्ला बोलाइएको जनाएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै डीएसपी चौधरीले नेपाल प्रहरी कुनै व्यक्ति वा राजनीतिक नेतृत्वको नभई कानुनअनुसार काम गर्ने संस्था भएको बताएका थिए । उनले भनेका थिए- ‘हामी बालेनको पुलिस पनि होइनौँ, नेपाल पुलिस हो, अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने नेपाली पुलिस हौँ, केपी ओलीलाई थुन्ने पनि यही पुलिस हो, यो बर्दी राष्ट्रपतिले पनि लगाउन पाउनु हुन्न । हामी भोट हालेर टिका लगाएर आएका होइनौं । दारु भात खाएर आएका होइनौं ।’ 

त्यसक्रममा उनले आफू प्रतिस्पर्धात्मक प्रक्रियाबाट प्रहरी सेवामा प्रवेश गरेको उल्लेख गर्दै प्रहरी संगठन राजनीतिक आधारमा नभई कानुनी प्रक्रियाअनुसार सञ्चालन हुने धारणा राखेका थिए । 

About the author

Jayanti Shiwakoti
By Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।