दङ्गीशरणका सबै वडा आफ्नै भवनमा

तुलसीपुर (दाङ), १९ असारः दङ्गीशरण गाउँपालिकाका सबै वडा आफ्नै भवनमा सञ्चालनमा आएका छन् । बिहीबारदेखि वडा नं ३ को भवनबाट सेवा दिन सुरु गरिएसँगै यहाँका सबै वडाले आफ्नै भवनबाट सेवा सुरु गरेका हुन् ।

यसअघि वडा कार्यालयहरू भाडामा थिए । वडा नं १, २, ४, ५ र ७ भाडाको घरबाट सञ्चालनमा थिए भने वडा नं ३ स्वास्थ्यको भवन र वडा नं ६ तत्कालीन गाविसको भवनबाट सञ्चालनमा थिए । अहिले सबै आफ्नै भवनमा भएपछि भाडा तिर्नुपर्ने अवस्थाको अन्त्य भएको पालिका अध्यक्ष शम्भु गिरीले बताउनुभयो । “पहिले भाडाको घरमा सञ्चालन गर्नुपर्ने अवस्था थियो, त्यसले गर्दा निकै समस्या हुने गर्थ्यो, उहाँले भन्नुभयो, “अब सबै वडा कार्यालयका आफ्नै भवन भए ।”

अन्य वडाहरूको विगतका वर्षमै भवन निर्माण भएर सेवा प्रवाह भइसकेको थियो भने चालु वर्षमा वडा नं ३ को भवनबाट सेवा सुरु गरिएको हो । भवन उद्घाटन कार्यक्रममा प्रमुख गिरीले स्थानीय सरकार सबैभन्दा नजिकको सरकार भएकाले नागरिकलाई छिटो, सहज, पारदर्शी र गुणस्तरीय सेवा दिनुपर्ने बताउनुभयो । उहाँले नवनिर्मित भवनले सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित तथा सेवाग्राहीमैत्री बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।