पोखरा महानगरको बजेट पारित

कास्की, १८ असार ः पोखरा महानगरपालिकाको १९औँ नगरसभाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि वार्षिक विकास कार्यक्रम (बजेट) पारित गरेको छ । नगर उपप्रमुख मन्जुदेवी गुरुङले गत असार ५ गते प्रस्तुत गर्नुभएको महानगरको आगामी आवको विकास कार्यक्रम सञ्चालनका लागि विनियोजित बजेट रु सात अर्ब १५ करोड २५ लाख सर्वसम्मतिले पास गरेको हो ।
महानगरले प्रस्तुत गरेको आगामी वर्षको बजेटका स्रोतहरूमा सङ्घीय सरकार सशर्त अनुदानबाट रु दुई अर्ब ६१ करोड ९१ लाख, सङ्घीय सरकार विशेष अनुदानबाट रु पाँच करोड ५० लाख, समपूरक अनुदान रु एक करोड ८२ लाख, समानिकरण अनुदान रु ४९ करोड ३७ लाख गरी सङ्घीय सरकार वित्तीय हस्तान्तरणको कुल योगदान रु तीन अर्ब १८ करोड ६० लाख रहेको छ ।
यसैगरी गण्डकी प्रदेश सरकार समपूरक अनुदान तर्फ रु ६० लाख, विशेष अनुदान रु ४० लाख र समानिकरण अनुदान तर्फ रु आठ करोड १५ लाख ३६ हजार गरी प्रदेश सरकार वित्तीय हस्तान्तरणको कुल योगदान रु नौ करोड १५ लाख ३६ हजार रहेको छ ।
राजस्व बाँडफाँटतर्फ सङ्घीय सरकारबाट प्राप्त हुने रु ३४ करोड ३४ लाख ७३ हजार, राजश्व बाँडफाँट गण्डकी प्रदेश सरकारबाट रु चार करोड ९ लाख ८६ हजार, राजश्व बाँडफाँट स्थानीय सरकारतर्फ रु एक अर्ब ३१ लाख १४ हजार र आन्तरिक स्रोततर्फ रु दुई अर्ब ४८ करोड ७३ लाख ९१ हजार गरी कुल आन्तरिक आय रु तीन अर्ब ८७ करोड ४९ लाख ६४ हजार हुनेछ । कूल विनियोजनमा चालु खर्चतर्फ ५५.१५ तथा पुँजीगत खर्चतर्फ ४४.९५ रहेको छ ।
नगरसभाले पोखरा महानगरपालिकाको आर्थिक विधेयक, २०८३, विनियोजन विधेयक, २०८३, न्यायिक समितिको वार्षिक प्रतिवेदन, सार्वजनिक लेखा समितिको प्रतिवेदन सहित कार्यपालिकाबाट सिफारिस भइआएका विधेयक, संशोधन विधेयक, मापदण्ड लगायत कानुनहरू समेत पास गरेको छ । महानगर प्रमुख धनराज आचार्यले नगरसभालाई सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्ने नगरसभासदस्यहरु प्रति आभार व्यक्त गर्नुभयो ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।