साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

काठमाडौँ, १७ असारः कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ ।

किसानलाई राहत हुनेगरी धानबालीका लागि थप आवश्यकपर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढाएको हो ।

सरकार–सरकार (जिटुजी) सम्झौताअन्तर्गत भारतबाट आयात हुनलागेको ३० हजार मेट्रिकटन युरिया मल साउनको दोस्रो साता नेपाल आइपुग्ने भएको छ ।

अन्तरराष्ट्रिय (ग्लोबल) टेन्डरमार्फत विभिन्न मुलुकबाट एक लाख ८० हजार मेट्रिकटन रासायनिक मलमध्ये ६० हजार मेट्रिकटन डिएपी र एक लाख २० हजार मेट्रिकटन युरिया रहेको छ ।

मन्त्रालयले मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तरराष्ट्रिय बजारमा मलको उपलब्धता घटे पनि किसानलाई राहत हुनेगरी मल आपूर्ति गर्न लागेको हो । यसवर्ष मन्त्रालयले हालसम्मकै बढी रासायनिक मल आयात गर्ने लक्ष्य लिएको छ ।

मन्त्रालयले स्थानीय तहमा मलको कालोबजारी वा अनियमितता पाइएमा उजुरी गर्न बिहान ७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म हटलाइन नम्बर ९७०००९९११३ तथा क्युआर कोडमार्फत गुनासो दर्ता गर्ने व्यवस्था गरेको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।