काठमाडौँ । भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या बढेर करिब २३५ पुगेको छ । स्वास्थ्यमन्त्री कार्लोस अल्भाराडोका अनुसार घटनामा चार हजार ५०० जना घाइते भएका छन् ।
भूकम्पपीडितको उद्धार र राहतका लागि अमेरिकाले सहयोग बढाएको छ । अमेरिकी दक्षिणी कमान्डले उपलब्ध सैन्य बल परिचालन गरिएको जनाएको छ । यसअन्तर्गत दुई नौसैनिक जहाज, सी-१७ ग्लोबमास्टर र सी-१३० हरक्युलिस मालवाहक विमान, हेलिकप्टर तथा निगरानी विमान परिचालन गरिने बताइएको छ ।
अमेरिकाले विशेष उद्धार टोली, स्वास्थ्य सामग्री र मानवीय सहायता पनि भेनेजुएला पठाउने घोषणा गरेको छ । यसअघि अमेरिकी विदेश मन्त्रालयले १५ करोड अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने जनाएको थियो ।
यसैबीच संयुक्त राष्ट्रसंघको बाल कोषले भने भूकम्पपछि भेनेजुएलाका लाखौं बालबालिका जोखिममा परेको चेतावनी दिएको छ । संस्थाका अनुसार प्रभावित क्षेत्रमा करिब ३९ लाख बालबालिका बसोबास गर्छन् र उनीहरूलाई तत्काल मानवीय सहयोग आवश्यक छ ।
बालबालिकाले चोटपटक, परिवारबाट छुट्टिनुपर्ने अवस्था, विस्थापन, मानसिक तनाव तथा स्वास्थ्य सेवा, सुरक्षित खानेपानी, शिक्षा र संरक्षणजस्ता आधारभूत सेवामा अवरोधको जोखिम सामना गर्नुपर्ने अवस्था रहेको बाल कोषले जनाएको छ।

