नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह

वासिङ्टन डिसी, ७ असारः अमेरिकामा रहेका नेपालीलाई नेपालका तुलनात्मक लाभका क्षेत्रमा लगानी गरी प्रतिफल प्राप्त गर्न यहाँस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।

‘नेपाली डायस्पोरा र नेपालको समृद्धि, व्यापार, लगानी र नवप्रवर्तनमा चुनौती र अवसर’ शीर्षकमा दूतावासले आज यहाँ आयोजना गरेको छलफलमा कार्यवाहक राजदूत शरद्राज अर्यालले मातृभूमिको उन्नयनका निम्ति पुँजी परिचालन गर्न अनुरोध गर्नुभएको हो ।

विदेशमा रहेका नेपालीको ज्ञान, सीप र पुँजीलाई नेपालको विकासमा उपयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले गैरआवासीय नेपालीका लागि लगानीमैत्री वातावरण निर्माण गरिएकाले ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नुभयो । सहभागीहरूले नेपालमा लगानीको सम्भावना, अवसर र चुनौतीबारे विस्तृत छलफल गरेका थिए ।

महावाणिज्यदूत लक्ष्मण खनालले नेपालमा सूचना प्रविधि, पर्यटन र ऊर्जा क्षेत्रबाट उच्च प्रतिफल प्राप्त हुने जानकारी दिँदै प्रवासी नेपालीले ती क्षेत्रमा उपलब्ध लगानीका अवसर गुमाउन नहुनेमा जोड दिनुभयो ।

उद्यमी लोक तिवारीले अमेरिकामा विभिन्न पेशा र व्यवसायमा रहेका नेपालीले आफ्नो सीप र अनुभवलाई नेपालको विकासमा उपयोग गर्नपर्छ भन्दै नेपाललाई प्राप्त विप्रेषण उत्पादनशील क्षेत्रमा लगानी गर्न सुझाउनुभयो ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।