इटालीकी प्रधानमन्त्री मेलोनीको लिक कुराकानी भाइरल

काठमाडौँ । फ्रान्समा जारी जी–७ शिखर सम्मेलनका क्रममा विश्व नेताहरूबीच भएको अनौपचारिक कुराकानी माइक्रोफोनमा रेकर्ड भएपछि त्यसले व्यापक चर्चा पाएको छ ।

नेताहरूलाई चुरोट, फुटबल र उपहारजस्ता विषयमा हल्का मजाक गर्दै गरेको सुनिएको थियो । सबैभन्दा बढी चर्चा भने इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले चुरोट छाडेको विषयलाई लिएर भएको संवाद बाहिरिएको छ र यसको चर्चा सामाजिक संजाल र मिडियामा भइरहेको छ । बैठक सुरु हुनुअघि मेलोनीले विश्वका नेताहरूसँग कुराकानी गर्दै आफूले त्यस दिन तीन कप कफी पिएको बताएकी थिइन् । त्यसपछि युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले आश्चर्य व्यक्त गर्दै सोधिन्, ‘के आज बिहान उठ्नका लागि मात्रै ?’ त्यसपछि जर्मनीका चान्सलर फ्रेडरिक मर्जले मजाक गर्दै, ‘अनि कति वटा चुरोट पिउनुभयो ?’ भनेर प्रश्न गरेका थिए।

मेलोनीले त्यसलाई अस्वीकार गर्दै आफूले एक महिनादेखि चुरोट नखाएको बताइन् । उनको जवाफ सुनेपछि क्यानडा, बेलायत, जापान र युरोपेली सङ्घका नेताहरूले उनलाई बधाई दिएका थिए । खुसी व्यक्त गर्दै मेलोनीले दुवै हात माथि उठाएकी थिइन् ।

त्यसपछि क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले मजाकिया शैलीमा आफ्नो हाततर्फ देखाउँदै, ‘के तपाईंले निकोटिन प्याच प्रयोग गर्नुभएको छ ?’ भनेर सोधेका थिए । उनको प्रश्न सुनेपछि त्यहाँ उपस्थित नेताहरू हाँसेका थिए । निकोटिन प्याच शरीरको छालामा टाँसिने एक प्रकारको उपचार सामग्री हो । यसले शरीरमा बिस्तारै सानो मात्रामा निकोटिन पुर्‍याउँछ, जसले चुरोट वा सुर्तीजन्य पदार्थ छाड्ने प्रयास गरिरहेका व्यक्तिहरूको लत कम गर्न र त्यस्ता बानी त्याग्न सहयोग पुर्‍याउछ ।

About the author

Jayanti Shiwakoti
By Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।