काठमाडौँ । ओमानको तट नजिक बिहीबार भारतीय चालक दल रहेको तेल जहाज एमटी जलवीरमा आक्रमण भएको छ । आक्रमणपछि जहाजमा आगलागी भएको छ । आक्रमण कसले गर्यो भन्ने स्पष्ट भएको छैन ।
घटनापछि भारतीय दूतावासले स्थानीय अधिकारीहरूसँग सम्पर्कमा रहेको र अवस्थालाई नजिकबाट नियालिरहेको जनाएको छ ।
यसअघि होर्मुज जलमार्ग नजिक बुधबार तेल बोक्ने अर्को जहाज एमटी सेत्तेबेल्लोमा भएको आक्रमणमा तीन जना भारतीयको मृत्यु भएको पुष्टि भएको छ । केन्द्रीय मन्त्री सर्बानन्द सोनोवालका अनुसार हालसम्म दुई जनाको शव भेटिएको छ ।
अमेरिकी पक्षले उक्त जहाज इरानी तेल बोकेर गइरहेको र चेतावनीको बेवास्ता गरेपछि कारबाही गरिएको दाबी गरेको थियो ।
यो साता भारतीय चालक दल रहेका जहाजमा भएको यो दोस्रो आक्रमण हो । यसअघि सोमबार ‘एमटी मेरीभेक्स’ नामको तेल ट्याङ्करमा पनि आक्रमण भएको थियो । उक्त जहाजमा २४ जना भारतीयसहित २८ जना चालक दल रहेका थिए । सबैलाई ओमानका सुरक्षाकर्मीले सुरक्षित उद्धार गरेका थिए ।
पछिल्ला तीन दिनमा भारतीय चालक दल भएका दुई तेल ट्याङ्करमा आक्रमण भएको हो । पहिलो घटना ८ जुनमा ‘एमटी मेरीभेक्स’ मा भएको थियो भने दोस्रो १० जुनमा ‘एमटी सेत्तेबेल्लो’ मा भएको हो । यस विषयमा भारतको परराष्ट्र मन्त्रालयले आक्रमणको निन्दा गर्दै सम्बन्धित पक्षसँग कडा विरोध जनाइसकेको छ ।

