काठमाडौं । सरकारी छाप र दस्तखत किर्ते गरेर ठगी गर्ने घटना सुनिँदै आए पनि बर्दियामा भने एक दम्पतीले नक्कली सरकारी कार्यालय नै सञ्चालन गरेर सर्वसाधारणलाई ठगेको तथ्य खुलेको छ।
यस प्रकरणमा संलग्न रहेको आरोपमा बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का २४ वर्षीय घनश्याम न्यौपाने र उनकी श्रीमती कृपा चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार उनीहरूले ठाकुरबाबा नगरपालिका–३ बगनाहास्थित एक घरमा ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग’ नामक नक्कली सरकारी कार्यालय स्थापना गरेका थिए। कार्यालयको साइनबोर्ड, लेटरप्याड तथा आधिकारिक छापसमेत नक्कली रूपमा तयार गरी स्थानीय बासिन्दालाई जागिर तथा रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोप छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत दाङको लमहीमा रहेको ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ व्यवस्थापन कार्यालय’सँग मिल्दोजुल्दो नाम प्रयोग गरेर उनीहरूले आफूलाई सरकारी निकायका रूपमा प्रस्तुत गर्दै आएका थिए।
प्रहरीका अनुसार कार्यालय सञ्चालन गरिएको भवनका घरधनीलाई समेत घरको तल्ला थप्न लगाएर त्यसको भुक्तानी नदिएको आरोप लागेको छ। घरधनीले दिएको जाहेरीका आधारमा अनुसन्धान सुरु गरिएको थियो।
अनुसन्धानका क्रममा दम्पतीले नक्कली सरकारी कार्यालय सञ्चालन गरी स्थानीय व्यक्तिहरूलाई कर्मचारीका रूपमा नियुक्त गरेको, विभिन्न ज्यालादारी काममा लगाएको तथा उनीहरूको ज्याला भुक्तानी नगरेको तथ्य खुलेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार जेठ २० गते घनश्याम न्यौपाने र दाङको लमही नगरपालिका–५ निवासी करिब २३ वर्षीया कृपा चौधरीलाई पक्राउ गरिएको हो।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

