पूर्वकुमारीको समूहलाई प्रसिद्ध तीर्थस्थल भालेश्वर महादेवको दर्शन गराइयो

काठमाडौँ, २५ जेठः आठ जना पूर्वकुमारीलाई चन्द्रागिरि भालेश्वर महादेवको दर्शन तथा अवलोकन गराइएको छ । चन्द्रागिरि नगरपालिकाको समन्वयमा प्रसिद्ध तीर्थस्थल भालेश्वर महादेवको विधि विधानअनुसार पूजा, दर्शन तथा त्यस आसपास क्षेत्रका पर्यटकीयस्थलको आइतबार अवलोकन गराइएको हो ।

त्यसक्रममा कुमारी जात्रा व्यवस्थापन समिति, इन्द्र जात्रा व्यवस्थापन समिति, भैरव जात्रा व्यवस्थापन समितिका पदाधिकारी तथा प्रतिनिधिको सहभागिता रहेको थियो । भ्रमण अवलोकनका साथै धार्मिक तथा आन्तरिक पर्यटनको विकासका विषयमा छलफलसमेत गरिएको थियो ।

उक्त प्रतिनिधिमण्डललाई चन्द्रागिरि केवलकार स्टेशनमा स्थानीयवासीले स्वागत गरेका थिए । यस वर्षको इन्द्रजात्रामा ऐतिहासिक इन्द्र दहमा लाग्ने मेलामा सहभागिता जनाउन कुमारीहरूलाई निमन्त्रणासमेत गरिएको कुमारी जात्रा व्यवस्थापन समितिका संयोजक गौतम रत्न शाक्यले जानकारी दिनुभयो । यस किसिमको भ्रमणले स्थानीय संस्कृति तथा मूल्यमान्यताको ज्ञान अभिवृद्धि र पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रत्येक वर्ष इन्द्रजात्राका अवसरमा दहमा लाग्ने मेलामा इन्द्रको पूजा गरिन्छ भने वसन्तपुरमा जीवित देवीका रूपमा कुमारीको पूजा तथा गणेश, कुमारी र भैरवको रथ जात्रा गरिन्छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।