वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास

मुस्ताङ,२१ जेठः वारागुङ मुक्तिक्षेत्र—१ झारकोट गाउँमा वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास गरिएको छ । त्यहाँस्थित झारकोट गुम्बाका प्रमुख लामा घिर्मी रिङझिङ ठकुरीले दुबै भवनको धार्मिक विधिपूर्वक शिलान्यास गर्नुभएको हो ।

स्वास्थ्य चौकीको करिब सात रोपनी जग्गामा वडा कार्यालय र स्वास्थ्य चौकी भवन निर्माण गर्नलागिएको हो । यी दुबै भवनको दुई महिना अघि ठेक्का सम्झौता भई निर्माणको काम अघि बढाईएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख माया गुरुङ, गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङ, उपाध्यक्ष डिकी गुरुङ, वडाध्यक्ष प्रमेश गुरुङसहित स्थानीयवासी र निर्माण व्यवसायीको उपस्थितिमा गुम्बाका प्रमुख लामा ठकुरीले बौद्ध धर्म परम्पराअनुसार धार्मिक विधिपूर्वक भूमि पूजा गरी वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास गर्नुभएको हो ।

वारागुङ मुक्तिक्षेत्र—१ स्थित झारकोटमा शिलान्यास गरिएको वडा कार्यालय भवन गाउँ पालिकाको आन्तरिक स्रोतमा निर्माण गर्न लागिएको हो भने स्वास्थ्य चौकी भवन प्रदेश सरकारको लागत साझेदारीमा निर्माण गर्न लागिएको हो । वडाध्यक्ष प्रमेश गुरुङका अनुसार साढे दुई तलाको वडा कार्यालय भवन रु एक करोड ५१ हजार र दुई तले स्वास्थ्य चौकी भवनको ठेक्का सम्झौता रु एक करोड ५१ लाख रहेको छ ।

वडा कार्यालय र स्वास्थ्य चौकी भवन दुवै निर्माणको ठेक्का खिङ्गा कन्स्ट्रक्सन मुस्ताङले पाएको छ । ठेक्का प्रक्रिया र सम्झौता केही ढिला भएकाले बहुवर्षीय योजनाको रुपमा लगेर आगामी आर्थिक वर्षमा वडा कार्यालय र स्वास्थ्य चौकी भवन सम्पन्न गर्ने लक्ष्य रहेको वडाध्यक्ष गुरुङले बताउनुभयो । वारागुङ—१ मा वडा कार्यालय र स्वास्थ्य चौकीको सुविधाजनक भवन पूर्वाधार नहुँदा सेवाग्राही र सेवा प्रवाहमा समस्या भएको वडाध्यक्ष गुरुङले बताउँनुभयो ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।