यार्सागुम्बा सङ्कलनको अभियोगमा चार जना पक्राउ

तेह्रथुम, २० जेठः अनधिकृत रुपमा यार्सागुम्बा सङ्कलन गरेको अभियोगमा चार जना पक्राउ परेका छन् ।

म्याङ्लुङ नगरपालिकाबाट अनुमति नलिइ यार्सागुम्बा टिपेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार सङ्खुवासभाको मादी नगरपालिका–९ का जीवन लिम्बू, कर्णबहादुर लिम्बू, बादल लिम्बू र हर्कबहादुर श्रेष्ठलाई पक्राउ गरिएको हो ।

उनीहरूबाट प्रहरीले १३ थान यार्सागुम्बा र नौ वटा मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजाबाबु ठाकुरले जानकारी दिनुभयो ।

म्याङ्लुङ नगरपालिका–६ स्थित भुसीने–जिपटारे सामुदायिक वन क्षेत्रमा मङ्गलबार २०–२५ जनाले यार्सागुम्बा सङ्कलन गरिरहेका सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो । मोटरसाइकल राखिएको स्थानमा यार्सागुम्बासहित उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरी नायब निरीक्षक ठाकुरले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालयका वन अधिकृत बद्रीप्रसाद शाहले राजस्व तिरेपछि मात्र यार्सा सङ्कलन गर्न पाइने बताउनुभयो । अनधिकृत रूपमा यार्सागुम्बा सङ्कलन गरेमा प्रतिकिलो रु ३१ हजारका दरले जरिवाना हुने व्यवस्था छ भने प्रतिवटा रु ३१ पनि लाग्नेछ ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी सन्नी झाले निर्यात हुनेबाट वार्षिक करिब रु तीन लाख तथा काठजन्य वन पैदावारबाट रु चारदेखि पाँच करोडसम्म राजस्व सङ्कलन हुँदै आएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।