हिमालको काखबाट राष्ट्रिय समृद्धितर्फ

मनाङ, २० जेठः लघु जलविद्युत्बाट उत्पादित विद्युत्मा मात्रै निर्भर रहँदै आएको मनाङमा पहिलोपटक १३५ मेगावाट क्षमताको मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना निर्माणसँगै राष्ट्रिय प्रसारण लाइनसँग जोडिने भएको छ ।

मस्र्याङ्दी नदीको अथाह जलशक्तिलाई उपयोग गरी निर्माण गरिएको यस आयोजनाले देशको ऊर्जा उत्पादन, ऊर्जा सुरक्षा र आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउनेछ ।

निजी क्षेत्रबाट निर्माण भएका ठूला जलविद्युत् आयोजनामध्ये एक यस आयोजना मनाङको नासोँ गाउँपालिका–८ र ९ नम्बर क्षेत्रमा निर्माण गरिंदैछ । ‘रन अफ रिभर’ प्रणालीमा आधारित यो आयोजनाले नदीको पानी बाँधमार्फत सङ्कलन गरी सुरुङबाट विद्युत्गृहसम्म पु¥याउने काम भइरहेको बुटवल पावर कम्पनीका निर्देशक प्रतीकमान प्रधानले जानकारी दिनुभयो ।

नेपालमा जलाशययुक्त आयोजनाको तुलनामा रन अफ रिभर आयोजना निर्माण लागत कम हुने, वातावरणीय असर तुलनात्मक रूपमा कम पर्ने तथा छिटो निर्माण गर्न सकिने भएकाले यस्ता आयोजनालाई प्राथमिकता दिइँदै आएको उहाँले बताउनुभयो ।

यस आयोजनाको ग्रस ४३०.२० मिटर र हेडरेस टनेल ६.०७५ किलोमिटर रहेको निर्माण भएको बुटवल पावर कम्पनीले जनाएको छ । आयोजनामा २० प्रतिशत बिपिसी र चिनियाँ कम्पनीको ८० प्रतिशत लगानी रहेको छ । आयोजनामा नेपाली साझेदार बिपीसीले २० प्रतिशत र तीन चिनियाँ कम्पनी एससीआइजी इन्टरनेसनल, छिङचेङ इन्टरनेसनल र चिनियाँ लगानीकर्तामा क्युवाइसी इन्टरनेसनलले संयुक्त रुपमा ८० प्रतिशत शेयर स्वामित्व रहने गरी लगानीकर्ताबीच समझदारी भएको छ ।

मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजनाको विकासको लागि सरकारसँग बुटवल पावर कम्पनीसहित तीन चिनियाँ कम्पनीबीच चार वर्षमा आयोजना विकास तथा निर्माण सम्पन्न गर्ने गरी २०७९ पुस ३ गते सम्झौता गरेका थिए । आयोजनाको कूल लागत रु ३३ अर्ब ३८ करोडमध्ये २० प्रतिशत स्वपुँजी र ८० प्रतिशत ऋण लगानी रहनेछ । आयोजनामा बुटवल पावर कम्पनीले मात्रै करिव रु एक अर्ब ३३ करोड स्वपँुजी लगानी गर्नेछ । आयोजनाले वार्षिक ७५ करोड नौ लाख ४८ हजार ८७५ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ ।

मस्र्याङ्दी नदीमा यसअघि पनि विभिन्न जलविद्युत् आयोजना निर्माण भएका भएका छन् । जसबाट तनहुँअन्तर्गत ६९ मेगावाटको मस्र्याङ्दी जलविद्युत् आयोजना, लमजुङअन्तर्गत ७० मेगावाटको मध्य मस्र्याङ्दी र ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ जस्ता आयोजनाले यस नदीको ऊर्जा सम्भावना प्रमाणित गरिसकेका छ । त्यही सम्भावनालाई थप उपयोग गर्दै मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना विकास गरिएको छ ।

निर्माण कार्य प्रारम्भ भएपछि पहुँच मार्ग निर्माण, सुरुङ खन्ने, बाँध संरचना बनाउने, विद्युत्गृह निर्माण गर्ने तथा प्रसारण लाइन विस्तार गर्ने काम एकसाथ सञ्चालन भइरहेको निर्देशक प्रधानले बताउनुभयो । “हिमाली भूभागमा आयोजना निर्माण गर्नुपर्ने भएकाले प्राविधिक तथा भौगोलिक चुनौतीहरू प्रशस्त रहेका छन् । तर, चुनौतीको सामना गर्दै ऊर्जा उत्पादनलाई अगाडि बढाइएको हो”, उहाँले भन्नुभयो । नेपालको दुर्गम हिमाली जिल्ला मनाङको भौगोलिक बनोट जटिल छ । साँघुरा पहाडी सडक, पहिरोको जोखिम, हिमपात तथा कठोर मौसमले आयोजना निर्माणलाई कठिन बनाए पनि त्यसको सामना गर्दै कामलाई तीव्र बनाइएको उहाँको भनाइ छ ।

विशाल आकारका टर्बाइन, जेनेरेटर तथा अन्य उपकरणहरू आयोजनास्थलसम्म पु¥याउन निकै चुनौतीपूर्ण रहेको र कतिपय अवस्थामा सडक स्तरोन्नति गरेर मात्र उपकरण ढुवानी गर्न सम्भव भएको प्रधानले जानकारी दिनुभयो । “सुरुङ निर्माणका क्रममा पनि भौगर्भिक जटिलता देखिएका थिए । कमजोर चट्टान, पानी चुहिने समस्या तथा पहिरोका कारण निर्माण अवधि लम्बिने जोखिम थियो । यद्यपि प्राविधिक टोलीले यी समस्याहरू समाधान गर्दै आयोजना निर्माणलाई निरन्तरता दिएका छन्”, उहाँले भन्नुभयो ।

जलविद्युत् आयोजना निर्माणको प्रत्यक्ष प्रभाव स्थानीय अर्थतन्त्रमा पर्र्नेछ । आयोजना निर्माणका क्रममा सयौँ स्थानीयले रोजगारी पाएका छन् भने यहाँको यातायात, होटल, रेष्टुराँ तथा अन्य सेवा व्यवसायमा पनि आर्थिक गतिविधि बढेको छ । पर्यटकीय क्षेत्रको रुपमा रहेको मनाङ जलविद्युत् निर्माण अवधिमा स्थानीय बजारमा वस्तु तथा सेवाको माग बढेकाले व्यवसायीले लाभ लिनसकेका छन् । सडक पहुँच विस्तार भएसँगै स्थानीय उत्पादन बजारसम्म पु¥याउन सहज भएको नासोँ गाउँपालिका–८ का वडाध्यक्ष याद घलेले बताउनुभयो ।

मनाङ मस्र्याङ्दी आयोजनाले स्थानीयवासीले आयोजना प्रभावित क्षेत्रका लागि थप पूर्वाधार विकास, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी, स्थानीय युवालाई प्राथमिकताका साथ रोजगारी तथा स्थानीय उत्पादनको बजारीकरणमा सहयोगको अपेक्षा राखेका छन् ।

जलविद्युत् आयोजनाबाट प्राप्त रोयल्टी स्थानीय तहसम्म पुग्ने भएकाले दीर्घकालीन विकासका लागि त्यसको प्रभावकारी उपयोग पनि उत्तिकै महत्वपूर्ण रहेको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताउनुभयो । स्थानीय सरकारले रोयल्टीलाई शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन विकासमा लगानी गर्न सकेमा आयोजनाको लाभ अझ व्यापक बन्न सक्ने उहाँको भनाइ छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङ एकाइका प्रमुख ढकबहादुर भुजेलले भन्नुभयो, “स्थानीय सरकारसँगको समन्वयमा जलविद्युत् आयोजना स्वच्छ ऊर्जा उत्पादनको स्रोत मानिए पनि यसका वातावरणीय प्रभाव पूर्ण रूपमा शून्य हुँदैनन् । नदीको प्राकृतिक बहावमा परिवर्तन आउँदा जलीय जैविक विविधतामा असर पर्न सक्छ ।” मस्र्याङ्दी नदीमा पानी मोडिएपछि केही खण्डमा नदीको बहाव कम हुने अवस्था आउन सक्छ । आयोजना निर्माणका क्रममा आयोजनाको वन क्षेत्र, जैविक विविधता तथा स्थानीय पारिस्थितिक प्रणालीमा पर्ने असर न्यूनीकरणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन अनुसार विभिन्न उपाय अवलम्बन गरिएको उहाँको भनाइ छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।