अत्तरिया (कैलाली) १९ जेठः धनगढीस्थित राष्ट्रिय समाचार समिति (रासस) प्रदेश कार्यालय भवनको निर्माण शुभारम्भ भएको छ । आज एक कार्यक्रमबीच सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले भवन निर्माणको शिलान्यास गर्नुभयो ।
त्यस अवसरमा उहाँले भवन निर्माणपछि राससलाई समाचार सम्प्रेषणमा थप टेवा पुग्ने र यसले समग्र सुदूरपश्चिमको पत्रकारिता विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री सार्कीले भन्नुभयो, “प्रदेश सरकारको लगानीमा भवन निर्माण हुन लागेको हो, अब निर्माण कम्पनीले चाँडोभन्दा चाँडो भवन निर्माण सम्पन्न गर्ने विश्वास छ । आगामी दिनमा पनि राससलाई प्रदेश सरकारले सकेजति सहयोग रहेनछ ।”
उहाँले राससको भौतिक संरचना विकास र स्रोतसाधन सम्पन्न हुँदा समग्र सुदूरपश्चिमका मुद्दा उठानमा सहज हुने विश्वाससहित प्रदेश सरकारले लगानी गरेको भन्दै आगामी दिनमा सोहीअनुसार सहकार्य गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । “यो भवन निर्माणको कुरा मात्र होइन, सुदूरपश्चिमका सम्भावना र समस्या उजागर गरी तिनलाई सम्बोधन गर्न तीनै तहका सरकार तथा सरोकार भएका निकायबीच सहकार्य गर्ने नीतिअनुरुपको पहल पनि हो”, मन्त्री सार्कीले भन्नुभयो,“सबै पक्षको साझेदारी, विकास र समन्वयले नै प्रदेश सरकारले अगाडि बढाएको समृद्ध सुदूरपश्चिमको सपना साकार गर्न सकिन्छ भन्ने हाम्रो बुझाई हो । सोहीअनुसार पत्रकारिता क्षेत्रको विकासका लागि हामीले काम गर्दै आएका छौँ ।”
रासस प्रदेश कार्यालय धनगढीका प्रमुख सिद्धराज भट्टले भवन निर्माणका लागि भएको सहयोगप्रति प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयप्रति अभार व्यक्त गर्नुभयो । उहाँले मन्त्रालयले बनाएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बमोजिम भवन निर्माणको काम सम्पन्न गर्न आगामी आर्थिक वर्ष २०८३/८४ मा पनि आवश्यक बजेट विनियोजनका लागि आग्रह गर्नुभयो ।
मन्त्रालयले रासस भवन निर्माणका लागि गत वर्ष नै डिपिआर बनाएर स्वीकृत गरिसकेको छ । डिपिआरबमोजिम बन्ने साढे दुईतले भवनका लागि करिब रु दुई करोड ३० लाख लागत अनुमान गरिएकामा चालु आर्थिक वर्षको वार्षिक विकास कार्यक्रमअन्तर्गत विनियोजित रु ७० लाख रकमबाट भवन निर्माण सुरु गरिएको हो ।
डिपिआरबमोजिम बोलपत्र आह्वान गरिएकामा न्यूनतम रकम अङ्क कबोल गर्ने पूर्वी हिमशिखर कन्ट्रक्सन कैलालीले ठेक्का पाएको छ । विसं २०३४÷३५ मा बनेको रासस धनगढीको एकतले भवन जीर्ण अवस्थामा पुगेपछि नयाँ भवन निर्माणका लागि राससको उच्च व्यवस्थापनले दुई वर्षअघि मुख्यमन्त्री कमलबहादुर शाहसमक्ष भवन निर्माणसम्बन्धी प्रस्ताव पेस गरेको थियो ।

