वीरगञ्ज महानगर प्रमुख सिंह पक्राउ

वीरगञ्ज (पर्सा), १९ जेठः वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहलाई पक्राउ गरिएको छ । पर्सा जिल्ला अदालतबाट लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको १० दिनपछि आज उहाँलाई पर्साको ठोरीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजु कार्कीले लुकीछिपी बसेका नगरप्रमुख सिंहलाई ठोरीबाट पक्राउ गरिएको पुष्टि गर्नुभयो । “हामीले उहाँको खोजीका लागि विशेष टोली परिचालन गरेका थियौँ, यसैक्रममा ठोरीमा लुकिछिपी बसेको अवस्थामा आज पक्राउ गरिएको हो । नगरप्रमुख सिंहलाई सम्भवत् आजै अदालतमा पेस गर्नेछौँ”, उहाँले भन्नुभयो ।

नगरप्रमुख सिंहले अर्काकी छोरीलाई नक्कली हस्ताक्षर गरी जन्मदर्ता, नागरिकता र राहदानी बनाएर लिखतसम्बन्धी कसुर गरेको आरोप लागेको छ ।

पर्सा जिल्ला अदालतले गत जेठ ८ गते जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र लेखेर लियाकत अलीको जाहेरीले लिखतसम्बन्धी कसुर मुद्दामा प्रमुख सिंहसहितका तीन जनालाई सात दिनभित्र खोजतलास गरेर अदालतमा पेस गर्न भनेको थियो ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।