विद्यार्थी न्यून भएका विद्यालय समायोजन

राँझा (बाँके), १८ जेठः बाँकेको खजुरा गाउँपालिकाले विद्यार्थी सङ्ख्या न्यून भएका तीन विद्यालयलाई समायोजन गरेको छ ।

विद्यार्थी सङ्ख्या न्यून रहेको खजुरा गाउँपालिका–३ स्थित शान्ति प्राथमिक विद्यालय, खजुरा गाउँपालिका–२ स्थित भानुदय प्रावि र शिव प्रावि नयाँ गुराँसपुर गरी हालसम्म तीन विद्यालयलाई समायोजन गरिएको खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार, शान्ति प्राथमिक विद्यालय जनता माध्यमिक विद्यालयमा समायोजन गरेर त्यहाँ गाउँपालिकाको प्रशासनिक कार्यालय निर्माण गरिएको छ । भानुदय र शिव प्राविलाई शुक्र माविमा समायोजन गरिएको छ ।

विद्यालय अन्यत्रै समायोजन भएपछि भानुदय प्राविको भवन खाली रहेको छ । शिव प्रावि नयाँ गुराँसपुर पनि शुक्र माविमा समायोजन गरिए पछि दुईतले भवन प्रयोगविहीन भएको छ । एउटा कोठामा बाल विकास सञ्चालन भए पनि अधिकांश भवन प्रयोगविहीन रहेको शिक्षा शाखा प्रमुख मल्लले बताउनुभयो ।

खजुरा गाउँपालिकाले विसं २०७५ देखि विद्यालय समायोजनको नीति कार्यान्वयनमा ल्याएको हो । विद्यालय समायोजनपछि प्रयोगविहीन विद्यालय भवन र अन्य संरचना संरक्षण अभावमा जीर्ण बन्दै गएका छन् । विद्यालय समायोजन नीति आवश्यक भए पनि खाली भएका भवनको सदुपयोगका लागि स्थानीय तहले ठोस योजना बनाउनुपर्ने खजुरा गाउँपालिका–२ का स्थानीय अगुवा भीम ओलीले बताउनुभयो ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।