नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता

राँझा (बाँके), १८ जेठः जिल्ला प्रहरी कार्यालय बाँकेले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता देखाएको छ ।

राप्ती नदी र अन्य खोलाबाट अवैध रूपमा हुने गरेको माटो तथा नदीजन्य पदार्थ उत्खनन एवं ढुवानी रोक्न नियमित अनुगमन तथा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबारमात्रै कोहलपुर नगरपालिका–७ लखनहवा र बैजनाथ गाउँपालिका–२ जब्दहवा क्षेत्रमा अवैध रूपमा माटो तथा नदीजन्य पदार्थ उत्खनन एवं ढुवानीमा संलग्न तीन सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले एक थान जेसिबी, एक थान टिपर र एक थान ट्याक्टर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरी उपरीक्षक जिसीले बताउनुभयो ।

नदीजन्य पदार्थको अवैध रूपमा उत्खनन र ढुवानी भइरहेको जनगुनासोका आधारमा जिल्ला प्रहरी कार्यालयले प्राकृतिक स्रोत तथा साधनको अवैध दोहन रोक्न नियमित अनुगमन तथा निगरानीलाई निरन्तरता दिँदै आएको उहाँको भनाइ छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।