विविध कार्यक्रमसहित मलेसियामा मनाइयो सगरमाथा दिवस

काठमाडौँ, १७ जेठः मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले सगरमाथा आरोहणको ऐतिहासिक ७३औँ वार्षिकोत्सव तथा अन्तरराष्ट्रिय सगरमाथा दिवस विविध कार्यक्रमसहित मनाएको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालको भिडियो सन्देशबाट प्रारम्भ भएको कार्यक्रममा राजदूतावासकी कार्यवाहक राजदूत मुदिता बज्राचार्यले नेपालमा पर्वतारोहण पर्यटनको महत्त्वबारे प्रकाश पार्दै हिमाली पारिस्थितिकीय प्रणालीको संरक्षण, पर्वतीय समुदायको जीविकोपार्जन र संस्कृतिको संरक्षणमा नेपालको प्रतिबद्धता दोहोर्याउनुभएको थियो ।

उक्त दूतावासका अनुसार सन् १९९७ मे २३ मा सगरमाथा आरोहण गर्नुभएका मलेसियाका प्रारम्भिक आरोही डाटुक मोहानादास नागप्पनले आफ्नो अनुभव सुनाउँदै आठ हजार मिटरभन्दा माथिको आफ्नो आरोहणको अनुभवले जीवनप्रतिको दृष्टिकोण परिवर्तन गरेको बताउनुभयो ।

सन् २०१४ मा चो–ओयु र २०१६ मा सगरमाथा आरोहण गरेका अजीम अफिफ इशाकले हिमाली क्षेत्रमा शेर्पा समुदायलगायत स्थानीय समुदायको योगदानबिना पर्वतारोहण सफल नहुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा महिलालाई लक्षित गर्दै साहसिक यात्रा र क्याम्पिङको प्रवद्र्धनमा काम गर्दै आएकी फजलीन नाजरिनले आफ्ना अनुभव प्रस्तुत गर्दै महिला सहभागिता बढाउन सुरक्षित वातावरण आवश्यक भएको बताउनुभयो ।

त्यस अवसरमा कार्यवाहक राजदूत बज्राचार्यले मलेसियाका पहिलो सगरमाथा आरोही डाटुक मगेन्द्रन मुनिसामी र डाटुक मोहानादास नागप्पनलाई प्रमाणपत्रसहित सम्मान गर्नुभयो ।

कार्यक्रममा मलेसियाली पर्वतारोही, कूटनीतिक नियोगका प्रतिनिधि, पर्यटन व्यवसायी, नेपालका मित्री तथा सञ्चारकर्मीहरूको सहभागिता थियो ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।