एभरेष्ट न्यूज एजेन्सी,
वीरगन्ज । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं साधारण तारेखमा रिहा भएका छन् ।
जिल्ला अदालत पर्साका मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासको आदेश अनुसार प्रसाईं साधारण तारेखमा रिहा भएका हुन् ।
यसअघि जिल्ला प्रहरी कार्यालय पर्साले सोमबार प्रसाईलाई अदालतमा उपस्थित गराए पनि मुद्दा हेर्न नभ्याएको भन्दै अदालतले उनलाई फिर्ता पठाएको थियो । प्रहरीले प्रसाईंमाथि विद्युतीय कारोबार ऐन तथा राज्यविरुद्धको कसूरअन्तर्गत अनुसन्धान गरिरहेको थियो । त्यस क्रममा दुई पटक म्याद थप गरेको थियो ।
प्रसाईको तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणको खारेज गर्दै म्याद थप भएको सोमबारसम्म अनुसन्धान सक्न परमादेश जारी गरेको थियो ।
प्रसाईंलाई जेठ ४ गते राति वीरगन्जस्थित सिद्धार्थ दियालो होटलबाट पक्राउ गरिएको थियो ।

