शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

गण्डकी, १२ जेठः कास्कीको मादी गाउँपालिकाका शिक्षकहरूलाई सञ्चार तथा सूचना प्रविधिसम्बन्धी तालिम दिइएको छ ।

पाँच दिवसीय तालिममा गाउँपालिकाअन्तर्गत आधारभूतदेखि माध्यमिक तहसम्मका ४८ जना शिक्षकरूको सहभागिता थियो । तालिममा शिक्षा तालिम केन्द्र, गण्डकी प्रदेशका रोस्टर प्रशिक्षकहरू रुपिन्द्र प्रभावी, खेमराज पौडेल र कीर्तिराज ढकालले पावरप्वाइन्ट, एक्सेल, एआई, माइक्रोसफ्ट वर्ड, गुगल एप्लिकेसनहरू, इमेल, इन्टरनेट, महत्त्वपूर्ण शैक्षिक वेबसाइटहरूबारे सहजीकरण गर्नुभएको थियो ।

शिक्षकरूलाई समयसापेक्ष प्रविधिमैत्री बनाउनका लागि तालिम दिइएको गाउँपालिकाका अध्यक्ष देवीजङ गुरुङले बताउनुुभयो । शिक्षकहरूको क्षमता विकास गाउँपालिकाको प्राथमिकतामा रहेको उल्लेख गर्दै उहाँले सिक्ने कुरामा उमेर बाधक नबन्ने बताउनुभयो ।

गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख खगेन्द्र लामिछानेले आजका विद्यार्थीलाई प्रविधियुक्त सिकाइ अनिवार्य रहेको जनाउँदै गाउँपालिकाभित्रका सबै विद्यालयमा आवश्यक प्रविधिको व्यवस्था गरिएको जानकारी गराउनुभयो । शिक्षक अब प्रविधिमैत्री नबनेका अवस्थामा विद्यार्थीको सिकाइमा नकारात्मक असर पर्ने उहाँको भनाइ छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।