पाकिस्तानमा रेल स्टेशनमा बम विस्फोटः २४ जनाको मृत्यु, ८२ घाइते

पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानमा आईतवार बिहान भएको एक शक्तिशाली बम विस्फोटमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ भने ८२ जना अन्य घाइते भएका छन् । प्रान्तीय राजधानी क्वेटास्थित रेलवे स्टेशनमा ‘जाफर एक्सप्रेस’ को शटल रेललाई लक्षित गरी उक्त विस्फोट गराइएको प्रहरी स्रोतले जनाएको छ ।

प्राप्त जानकारीअनुसार ईदको बिदा मनाउन घर जान लागेका सुरक्षाकर्मीहरू सवार उक्त रेल क्वेटा क्यान्टोन्मेन्ट स्टेशनबाट प्रस्थान गर्नै लाग्दा स्थानीय समयअनुसार बिहान ८ बजे विष्फोट भएको थियो । विस्फोटको तिब्रताका कारण रेलका केही डिब्बाहरू पटरीबाट खसेका छन् भने दुईवटा डिब्बामा आगलागी समेत भएको छ ।

सो क्रममा स्टेशन आसपास रहेका अन्य सवारी साधनहरूमा पनि क्षति पुगेको छ । हताहत हुनेहरूमा सर्वसाधारण महिला तथा बालबालिका समेत रहेको उद्धारमा खटिएका अधिकारीहरूले जानकारी दिएका छन् । घाइतेमध्ये ५७ जनालाई स्थानीय सैन्य अस्पताल र २५ जनालाई क्वेटास्थित सिभिल अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।

प्रारम्भिक अनुसन्धानका अनुसार यो एक आत्मघाती आक्रमण भएको हुनसक्ने देखिएको छ । आक्रमणकारीले ७० किलोग्रामभन्दा बढी विस्फोटक पदार्थ भरिएको सुसाइड भेइकल–बोर्न इम्प्रोभाइज्ड एक्प्लोसिभ डिभाइस प्रयोग गरेको हुनसक्ने सुरक्षा निकायको अनुमान छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

About the author

Jayanti Shiwakoti
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।