काठमाडौं । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान २०८३ मंगलबारदेखि सुरु भएको छ। अभियानको शुभारम्भका अवसरमा काठमाडौंमा र्याली आयोजना गरिएको छ ।
र्यालीलाई सम्बोधन गर्दै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसाविरुद्ध एकजुट हुन सबैमा आह्वान गरिन् । उनले हिंसामुक्त, विभेदरहित र न्यायपूर्ण समाज निर्माणका लागि पीडितको संरक्षण, दोषीलाई कानुनी कारबाही र न्यायको सुनिश्चितता गर्नुपर्ने बताइन् ।
यस वर्ष अभियान ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ सञ्चालन भइरहेको छ। हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् अन्तर्राष्ट्रिय मानव अधिकार दिवससम्म मनाइने अभियानमा सरकारी निकाय, नागरिक समाज, सञ्चारमाध्यम र आम नागरिकको सहभागिता रहनेछ ।

