महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले काठमाडौं आएका राउटे समुदायका सदस्यलाई सुन्धारास्थित उनीहरू बसेको अतिथिगृहमा पुगेर भेट गरेकी छन् ।
भेटका क्रममा मन्त्री बादीले राउटे समुदायको कला, संस्कृति, परम्परा, सुरक्षित आवास, स्वास्थ्य, शिक्षा र जीवनस्तर सुधारका विषयमा छलफल गरेकी थिइन्। उनले समुदायका सदस्यलाई साडी, पोते, जुत्तालगायत सामग्री उपहारसमेत दिएकी थिइन् ।
छलफलमा राउटे समुदायका सदस्यहरूले निरन्तर बसाइँसराइका कारण सुरक्षित आवास, खानपान, स्वास्थ्य र शिक्षामा समस्या हुने गरेको बताएका थिए। उनीहरूले बस्तीको सुरक्षा, बालबालिका तथा युवाका लागि खेलकुद सामग्री र विभिन्न स्थानको भ्रमणको व्यवस्था गर्न पनि आग्रह गरेका थिए ।
मन्त्री बादीले राउटे समुदायको मौलिक पहिचान र संस्कृति संरक्षण गर्दै उनीहरूको इच्छाअनुसार शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षित आवास र जीविकोपार्जनका क्षेत्रमा सहयोग गर्ने बताइन् ।
उनले परम्परागत सीपबाट उत्पादित सामग्रीको बजार पहुँच विस्तार गर्नुपर्नेमा जोड दिँदै समुदायको स्वतन्त्र इच्छा र सहमतिका आधारमा जीवनस्तर सुधारका कार्यक्रम अघि बढाइने बताइन् ।
भेटको अन्त्यमा मन्त्री बादीले राउटे समुदायका सदस्यलाई मन्त्रालयमा आउन निमन्त्रणा दिएकी थिइन् । उनीहरूले निमन्त्रणा स्वीकार गर्दै मन्त्रालय आउने बताएका छन् ।

