अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ आह्वान

अ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्ने उद्देश्यले विभिन्न देशका लागि ‘कन्ट्री फोकल पर्सन’ नियुक्त गर्न आवेदन आह्वान गरेको छ ।

विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रले हालै स्वीकृत ‘त्रिविको अन्तर्राष्ट्रियकरणसम्बन्धी निर्देशिका, २०२६’ अनुसार इच्छुक स्थायी प्राध्यापकबाट आवेदन माग गरेको हो । उपकुलपतिबाट नियुक्त हुने उक्त पद मानार्थ तथा स्वयंसेवी हुनेछ भने कार्यकाल सुरुमा दुई वर्षको रहनेछ ।

नियुक्त व्यक्तिले सम्बन्धित देशका विश्वविद्यालयसँग भएका सम्झौता कार्यान्वयन तथा सक्रिय बनाउने, संयुक्त अनुसन्धान, विद्यार्थी तथा प्राध्यापक आदानप्रदान प्रवर्द्धन गर्ने, अनुसन्धानका लागि आर्थिक स्रोत खोज्ने र विदेशी विद्यार्थीलाई त्रिविमा आकर्षित गर्न सहजीकरण गर्ने जिम्मेवारी पाउनेछन् ।

इच्छुक स्थायी प्राध्यापकले आगामी मंसिर १० गते (नोभेम्बर २५) भित्र अनलाइन आवेदन दिन सक्नेछन् । आवेदनसँगै अन्तर्राष्ट्रिय अनुभव, व्यक्तिगत विवरण र आगामी दुई वर्षको कार्ययोजना पेस गर्नुपर्नेछ । त्रिविले आवेदकको अन्तर्राष्ट्रिय अनुभव, सम्बन्धित देशसँगको सम्पर्क र सहकार्य विस्तार गर्न सक्ने क्षमताका आधारमा छनोट गर्ने जनाएको छ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।