तिहारका लागि राष्ट्र बैंकले सुनको असर्फी र चाँदीको मेडालियन बेच्ने

त

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै सुनको असर्फी र चाँदीको मेडालियन बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले कात्तिक १९ र २० गते सुनको असर्फी तथा चाँदीको मेडालियन बिक्री गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति २.५ ग्रामको एक थान सुनको असर्फी र १० ग्रामको एक थान चाँदीको मेडालियन बिक्री गरिनेछ । चाँदीको मेडालियनमा लक्ष्मी र गणेशको आकृति अंकित हुनेछ। एक व्यक्तिले बढीमा दुई थान मात्रै खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।

उक्त असर्फी तथा मेडालियन कात्तिक १९ र २० गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म टक्सार महाशाखाको बिक्री काउन्टरबाट खरिद गर्न सकिनेछ । बिक्री मौज्दात कायम रहेसम्म मात्र खुला रहने राष्ट्र बैंकले जनाएको छ ।

खरिद गर्न चाहने नेपाली नागरिकले नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर उल्लेख भएको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ । यसको भुक्तानी नगद वा क्यूआर माध्यमबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकका अनुसार सुनको असर्फी तथा चाँदीको मेडालियनको मूल्य दैनिक बिहान करिब ११ बजेपछि निर्धारण हुनेछ । मूल्य निर्धारण भएपछि मात्रै बिक्रीको सूचना जारी गरिनेछ ।

About the author

Srijana Puri
By Srijana Puri
नेप प्रेस एक प्रमुख अनलाइन समाचार पोर्टल हो, जसले नेपालभित्रका र अन्तर्राष्ट्रिय खबरहरू छिटो, सटीक, र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने उद्देश्य राख्छ। यो अनलाइन पत्रिका डिजिटल प्लेटफर्ममार्फत पाठकहरूलाई समाचार, विचार, विश्लेषण, मनोरञ्जन, खेलकुद, र जीवनशैलीसँग सम्बन्धित सामग्रीहरू प्रस्तुत गर्छ।