धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका-९ स्थित मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका लागि पृथ्वी राजमार्ग तीन घण्टा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै आगामी सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मझिमटार क्षेत्रको पृथ्वी राजमार्गमा सबै प्रकारका सवारी साधनको आवागमन पूर्ण रूपमा रोक लगाइने जानकारी दिएको छ ।
नागढुंगा-मुग्लिन सडक योजना (पश्चिम खण्ड) अन्तर्गत निर्माण कार्य गर्नुपर्ने भएकाले उक्त अवधिमा सवारी सञ्चालनमा रोक लगाउन लागिएको हो ।
प्रशासनले उक्त समयमा यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ । साथै सवारी सञ्चालन गर्दा प्रचलित ट्राफिक नियम तथा सडक अनुशासन पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ ।

