काठमाडौं । जर्मनीमा बढ्दो महँगी र सरकारी खर्च कटौतीविरुद्ध भएको प्रदर्शन हिंसात्मक बनेको छ ।
शनिबार राति फ्र्याङ्कफर्टमा प्रदर्शनकारीले पसलहरूमा लुटपाट गर्नुका साथै प्रहरीसँग झडप गरेका छन् । बर्लिन, कोलोन र ह्याम्बर्गमा पनि हिंसात्मक घटना भएका छन् ।
‘जेन्जी रेगेल्ट’ नामक अभियानको आह्वानमा हजारौँ युवाले प्रदर्शन गरेका थिए । उनीहरूले विद्यालयमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने, बढ्दो जीवनयापन खर्च नियन्त्रण गर्नुपर्ने, सरकारी खर्च कटौती रोक्नुपर्ने र अनिवार्य सैन्य सेवाको व्यवस्था हटाउनुपर्ने माग गरेका थिए । दिनभर भएका प्रदर्शन अधिकांश शान्तिपूर्ण रहे पनि राति हिंसात्मक बनेका थिए ।
प्रहरीका अनुसार प्रदर्शनकारीले पटाका, ढुङ्गा र बोतल प्रहार गरी सुरक्षाकर्मी तथा आपत्कालीन सेवाका कर्मचारीलाई निशाना बनाएका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा प्रयोग गरेको थियो ।
फ्र्याङ्कफर्टको मुख्य किनमेल क्षेत्रमा प्रहरीले आवागमनसमेत बन्द गरेको थियो। घटनामा संलग्न केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
फ्र्याङ्कफर्ट, म्युनिख र बर्लिनका अधिकारीहरूका अनुसार प्रदर्शनमा कुल १८ हजारसम्म मानिस सहभागी भएका थिए । अभियानकी प्रवक्ता लिना फ्रेडरिकले प्रदर्शनको उद्देश्य युद्ध र जबर्जस्तीको सट्टा शान्ति तथा स्वतन्त्रताको पक्षमा आवाज उठाउनु रहेको बताएकी छन् । उनले स्वास्थ्य र शिक्षा क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्ने तथा अनिवार्य सैन्य सेवाको भार न्यायोचित रूपमा बाँड्नुपर्ने मागसमेत राखेकी छन् ।
जर्मनीमा भएको प्रदर्शन फ्रान्समा हालै भएका युवाको नेतृत्वका प्रदर्शनपछि भएको हो । फ्रान्समा पनि शनिबार तीन लाख २० हजारभन्दा बढी मानिसले प्रदर्शन गरेका थिए ।
युरोपका विभिन्न देशमा बढ्दो महँगी, सरकारी नीतिप्रति असन्तुष्टि र युवाका समस्या विरोध प्रदर्शनको मुख्य विषय बन्दै गएका छन् ।

