न्यूज कारखाना
रौतहट १२ असोज। भारत उत्तराखण्ड हरिद्वारस्थित अखिल विश्व गायत्री परिवारकी संस्थापिका वन्दनीया माता भगवती देवी शर्माको १००औँ जन्मजयन्तीको अवसरमा गायत्री तीर्थ शान्तिकुञ्जमा विशेष कार्यक्रम आयोजना हुने भएको छ।
जन्मशताब्दी वर्षको महत्वपूर्ण कडीका रूपमा आगामी २९ सेप्टेम्बरदेखि दुईदिने विशेष कार्यक्रम सञ्चालन गरिने शान्तिकुञ्जले जनाएको छ। कार्यक्रममा सामूहिक साधना, संगीत सन्ध्या तथा विभिन्न रचनात्मक कार्यक्रममार्फत माताजीको तप, त्याग, सेवा, साधना र युग निर्माण अभियानमा पुर्याएको योगदानको स्मरण गरिनेछ।
दुईदिने कार्यक्रममा गायत्री विद्यापीठका विद्यार्थी तथा शान्तिकुञ्जका कार्यकर्ता सहभागी हुनेछन्। साधना तथा सांस्कृतिक प्रस्तुतिसँगै माताजीको सेवा, त्याग र संस्कार निर्माणसँग सम्बन्धित प्रेरणादायी प्रसंग नयाँ पुस्तासम्म पुर्याउने कार्यक्रम रहेको जनाइएको छ।
जन्मशताब्दी वर्षको अवसरमा शान्तिकुञ्जमा देश–विदेशका गायत्री परिवारका सदस्यको सहभागितामा विभिन्न कार्यक्रम निरन्तर सञ्चालन भइरहेका छन्।
यसै क्रममा शान्तिकुञ्जमा बाल्यकालदेखि नै रहँदै आएका देव संस्कृति विश्वविद्यालयका उपाध्यक्ष डा. चिन्मय पण्ड्याले माताजीको जीवनसँग सम्बन्धित विभिन्न आत्मीय तथा कम चर्चामा आएका प्रसंग सुनाउने कार्यक्रम रहेको छ। उनका संस्मरणमार्फत माताजीको निकट रहेर अनुभव गरिएका व्यक्तित्वका विभिन्न पक्ष नयाँ पुस्तासामु प्रस्तुत गर्ने प्रयास गरिनेछ।
शान्तिकुञ्ज मिडियाका अनुसार वन्दनीया माता भगवती देवी शर्माले युगऋषि पण्डित श्रीराम शर्मा आचार्यसँग मिलेर युग निर्माण तथा विचार क्रान्तिको अभियानलाई गति दिन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।
उनको जीवन नारी जागरण, संस्कार निर्माण, सेवा र साधनाप्रतिको समर्पणका लागि प्रेरणादायी रहेको गायत्री परिवारले जनाएको छ।
अखिल विश्व गायत्री परिवारले सन् २०२६ लाई माता भगवती देवी शर्माको जन्मशताब्दी वर्षका रूपमा मनाइरहेको छ। यसअन्तर्गत भारतसहित विश्वका ५० भन्दा बढी देशमा विभिन्न कार्यक्रम श्रृंखलाबद्ध रूपमा सञ्चालन भइरहेका छन्। २९ सेप्टेम्बरदेखि शान्तिकुञ्जमा सुरु हुने विशेष कार्यक्रमका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ।

